Posted by Ram Kumar Shrestha on August 25, 2010
By – मधु माधुर्य, मस्को
“मोराले मन्दिरै भत्काउने पो हो कि”
भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु
पशुपतिनाथको देशमा
म
उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु
मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ?
प्राकृतिक रेफ्रिजेरेटर खोलेर
लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु;
कृष्ण-सागर तर्दा चकमक हराएछ
एक झिल्को आगो खोज्न
अरिंगालको गोलामा हात पसार्छु
मनोरंजन बिनाको जीवन पनि जीवन ?
गोमनको टाउकामा चढेर
बिच्छीहरुको रेस्लिंग हेर्छु
गैंडा चढेर गोहि र घोरलहरुको जल-क्रिडा हेर्छु
बिरेनून भनेर नाईट्रिकसाइनाइड खाएछु
कति नमीठो छ्या – तीतो/ दुर्गन्धित !
मह र विष जुधेर “हेंगओभर” भएछ क्यार
मातेर सुनखानीको भीरबाट “डाइभिंग” गर्दा
तामाकोशीको पिंध स्पर्श भएछ -
त्यहाँ सालिग्राममाथि शार्क पो निदाई रहेछ
माछा निदाउंदा आँखा किन हो खुला छ ?
आफ्नै जीउमा सम्भावनाका पखेटा पलाएपछि
यात्राको रहरलाई पिंजडाभित्रको सुगा बनाउने किन ?
आँखाले नदेखेको ग्रह-उपग्रह घुमफिर गर्छु सपनीमा
गाउँ-शहर फर्कदा विपनीमा
उही बेहाल छ देशमा :
निमुखाको लागि अझै गास, बास, कपास छैन
नवगठित सरकारै छैन, नयाँ सम्बिधानै छैन
दक्षिणमा १०-२० ओटा दशगजा छैनन्
पूर्ण कपिलवस्तु र भलो गर्ने पशुपति छैनन्
लोड-शेडिंग भएरै हो त ?
लोकतन्त्रको मुख उज्यालो छैन
नेपालमा सिंहदरबार त छ
सिंहदरबारमा नेपाल छैन
देश-चलाउनेहरुको बथान त छ
तर त्यो बथानमा नेपाली छैन
दुतावासको कर्मचारी मसंग सभासद भनी झुक्किएछ
मार्छु भनी दिएको धमासको कुनै लेखाजोखा छैन
डण्डीफोरले उमेरमै हिरोसिमा र नागासाकी बनाइ सकेको
मेरो आदिम गालामा प्रेमछाप लगाउन
प्रेमिका ” आइ लभ यु ” भन्दै झुन्डिन खोज्छे
मेरो घोचो जस्तो ” स्लिम”/सुरिलो जिउमाथि
तर सक्दिनन्
मेरो देह-रक्षकले मृत्यु-डण्डी देखाउंदै
मबाट तिनलाई पन्छाई रहेछ
आक्रामक प्रेम-प्रकोपबाट बचाउन हो कि !
तैपनि किन डराई रहेछु म आफ्नै देशमा ?
टुलुटुलु मुकदर्शक हुँदै एउटा अप्रिय दृश्यको -
“मानचित्रमा क्रमश देश हराई रहेछ”
अर्थात् अब गुराँस हाम्रोलागि नफुल्न सक्छ
डाँफेको नाचगान हाम्रोलागि नहुन सक्छ
पृथ्वीमा घामको पहिलो झुल्को हाम्रो नहुन सक्छ
मेची-कोशी-महाकाली हाम्रालागि नबग्न सक्छन्
हाम्रै पहिरन, बोली भोली हाम्रा नहुन सक्छन्
अर्थात् हामी हामी नहुन सक्छौं
हाम्रो छाया हाम्रो नहुन सक्छ
हेर्दा-हेर्दै सिंहदरबार देशको हुन छाड्यो
हेर्दा-हेर्दै देशको मान्छे देशको हुन छाड्यो
कोही न कोही देशको हुन छाड्ने हैजा चलेजस्तो छ यहाँ
दिन-दहाडै
प्रताप मल्लको काठमाण्डूमा
पिशाच (भेमपाएर्) हरुको समेत नराम्रो दुर्गन्ध आइरहेछ ….
कि विभत्स चलचित्रमा जस्तै पिशाचहरुले मान्छेलाई टोक्दै छन् ?
र टोकिएका सबै फेरी पिशाचमा रुपान्तरित हुदैछन् ?
के हामी सबै पिशाचका उमेदवारहरु हौँ ?
कि हामी अझै सग्ला / जिउँदा छौं ?
यसरी त कहाँ हुन्छ र बाँच्न ?
कसले सिकायो यसरी बाँच्न ?
के म जिउंदै छु यो पिशाचको लस्कर घुम्ने देशमा ?
के म जिउंदै छु जनता र देश गुम्ने समयमा ?
म मेरो अस्तित्व परिक्षण गराउन
प्रयोगशाला जान्छु ज्ञान- विज्ञानको -
रगतमा पिशाच-अणुको उपस्थिति “नेगेटिभ” देखियो
तन्तुमा नेपाल र कोष-कोषमा नेपाली भेटियो
उठें म, म जस्तै मान्छे खोज्न
उठें म, म जस्तै मनहरु खोज्न
हजारौं सहिद, वीरविरंगनाहरुले
छाडेर गएको
अमर क्वान्टममा
म ब्युझिसकेको रहेछु
खिया लागेको खुकुरी उद्यौने
वा चुडिएको घुएत्रो जोड्ने
समय यो होइन
परमाणुबमको भकुण्डो हान्ने
र
लेजरबिमको गुलेली सोझ्याउने
समय यो होइन
यो आँट /आत्मविश्वासको समय हो
यो सहि निर्णय / अन्तिम जन- विजयको समय हो
विश्वासभन्दा अग्लो सगरमाथा हुनै सक्दैन
र
विश्वासभन्दा अग्लो कुनै अर्को सोचाई हुनै सक्दैन
हामी त नेपाली हौँ नि !
कहाँ कसले उडाउन खोज्दैछ -
नेपालीको स्वाधिनताको बिश्वास ?
सार्वभौम नेपालको विश्वास ?
देश-प्रेममा नेपालको बिश्वास ?
त्यो विश्वासको झन्डा अझै सफा होस्
बिहानको नीलिमा जस्तै
कुनै कालो दागबिहिन….
कुहिरोबिहिन…
काला-धमिला आकृतिबिहिन…
ए पिशाचहरु !
तिमीहरुको निधारमा
म एउटा जरुरी सूचना टाँगीदिन्छु -
” तिमीहरुलाई टोक्नेले
तिमीलाई शरण दिएन भने
तिमीहरु यही माटोमा बस
जहाँ तिम्रो जन्म भयो,
र मान्छेलाई नटोक
माटोलाई नचिथोर !..”
मृत्तकहरु मार्न
म को हुँ र ?
किरा-फट्यांग्रा नमार भन्ने
मान्छे म
भो तिमीहरुलाई पनि मार्दिन
जुन दिन तिमीहरुको
एक सुकामा बिक्रि भएको थियो
त्यहिबेला तिमीहरुको मृत्यु भैसकेको थियो !
अभाव, दुख र मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि
मैले कुन मुल्यमा अब कोसंग डराउनु पर्यो ?
पाइला बढाउछु
निर्धक्क म देशको माटो समाउँछु
झ्याली पिट्छु म -
यो देश नेपाल हुनुपर्छ
यो देश संधै मेरो /हाम्रो हुनुपर्छ
आकाश-धर्ति साक्षी राखेर
देशको माटो छोएर
म यो देशको पुनर्घोषणा गर्दै छु:
यो देश नेपाल हो
स्वर्ग टल्किन सक्छ
हिमाल उठेर पनि
ऊ
तराइ फैलिन सक्छ !यहाँको आदिबासी
म
नेपाली हुँ
केहि नभएपनि आफुसँग
देशको लागि -
आफैलाई आहुति दिन सक्छु म !
अगस्त २३, २०१०
No comments:
Post a Comment