Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

दशौं राष्ट्रिय बौद्ध सम्मेलनः सिंहावलोकन

By रीना तुलाधर
लुम्बिनीको विकासः राष्ट्रिय प्रतिष्ठाको अवधारणा लिई शुरु भएको दशौं राष्ट्रिय बौद्ध सम्मेलन यही पुस ३ गते लुम्बिनीमा धर्मोदय महाचैत्यको परिसरमा छ बुँदे लुम्बिनी घोषणापत्र जारी गरी सम्पन्न भएको छ।
राष्ट्रपति डा.रामवरण यादवद्वारा प्रमुख आतिथ्य ग्रहण र समुद्घाटन गरिएको समारोहमा राष्ट्रपतिले भगवान् बुद्धको जन्मभूमि नै आफ्नो मातृभूमिको रुपमा पाउँदा सम्पूर्ण नेपालीको गौरव र प्रतिष्ठा बढेको बताउनुभएको थियो। बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक बुद्धभूमि नेपाल धर्म निरपेक्ष गणतन्त्र राष्ट्रमा परिणत भइसकेको र यतिबेला राष्ट्र निर्माण र विकासका लागि शान्ति सुव्यवस्थालाई संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको उल्लेख गर्दै उहाँले बुद्धको जन्मभूमि नेपालमा शान्तिपूर्वक छिटै संविधान लेख्ने कार्य पूरा होस् भन्ने अपेक्षा राख्नुभएको थियो।
समुद्‌घाटन समारोहमा उपस्थित संस्कृतिमन्त्री एवम् लुम्बिनी विकास कोषका अध्यक्ष मीनेन्द्र रिजालले दशौं राष्ट्रिय बौद्ध सम्मेलनको सफलताले बुद्ध जन्मेको ठाउँ भारतमा पर्दछ भन्ने भ्रमपूर्ण प्रचारलाई रोक्नको लागि मद्दत पुग्नेछ भन्नुभयो। त्यस्तै श्रीलंकाका राजदूत थोसापाला हेवागेले लुम्बिनीमा गुरु योजनाअनुसार पूरा काम भएको छैन, यो धार्मिकका साथै पर्यटकीय स्थलको रुपमा पनि विकसित गर्न यहाँ आधारभूत विकासको अत्यन्त जरुरी भएको उल्लेख गर्नुभएको थियो। थाइलैन्डका राजदूत मारिस संयिगम पोङ्साले ‘धर्मोदय सभाको यस आयोजनाले नेपालमा बौद्ध समुदायको बीच एकताको भावना आउनेछ भन्ने विश्वास छ’ भन्नुभयो।
धर्मोदय सभाद्वारा निर्माणाधीन धर्मोदय महाचैत्यको परिसरमा सम्पन्न भएको दशौं राष्ट्रिय बौद्ध सम्मेलनको अघिल्लो दिन पुस १ गतेका दिन धर्मोदय महाचैत्य धम्महलभित्र स्वर्ण बुद्ध प्रतिमाको पनि उद्घाटन भएको थियो। हलभित्र स्थापित १६ फिटको स्वर्ण बुद्ध प्रतिमाको तीनवटै बौद्ध यान थेरवाद, महायान तथा वज्रयानका वरिष्ठ धर्मगुरुहरुद्वारा तीनै किसिमका विधि पूजाबाट प्रतिस्थापन पूजा गरिएको थियो। जुन पूजा एउटा नमूनाको रुपमा लिन सकिन्छ। नेपालमा प्रचलित तीनवटै बौद्ध यानको एकता स्वरुप सम्मेलनको समुद्‌घाटनको दिनमा पनि तीनवटै यानका धर्मगुरुहरुले आ–आफ्नो विधिअनुसार मंगलकामनाको प्रार्थना गरी सम्मेलनको थालनी गर्नुभएको थियो। जसलाई एकताको प्रतीकको रुपमा लिन सकिन्छ।
धर्मोदय सभाले १० वटासम्म राष्ट्रिय सम्मेलन गरिसकेको छ तर यसपालि धर्मोदय सभाकै तत्वावधानमा निर्माणाधीन धर्मोदय महाचैत्यको परिसरमा सम्मेलन हुनु, धम्महल, स्वर्ण बुद्ध प्रतिमा, स्वर्ण वज्रधातु तथा चैत्यभित्र अभिताभ बुद्ध, शाक्यमुनी बुद्ध तथा मैत्री बोधिसत्व गरी ८ सयभन्दा बढी साना बुद्ध प्रतिमाहरु स्थापना हुनु दशौं राष्ट्रिय बौद्ध सम्मेलनको एउटा विशेष पहिचान हो। धर्मोदय सभाले हरेक दुई वर्षमा सम्मेलनको आयोजना गर्दै आएको छ। धर्मोदय सभाले निर्माण गरेको धर्मोदय महाचैत्यपरिसरको भविष्यमा सुरक्षा पनि धर्मोदय सभाले नै जिम्मा लिनेछ भन्ने धर्मावलम्बीहरुले आशा लिएको छ। जो एउटा अति आवश्यक कदम पनि हो र लुम्बिनी विकास कोष र धर्मोदय सभाको संयुक्त प्रयासले यसको सुरक्षा गरेमा निक्कै राम्रो हुनेछ।
समुद्‌घाटन समारोहमा नेपालमा उल्लेखनीय बुद्ध शासनिक योगदान दिने व्यक्तित्वलाई धर्मोदय सभाले हरेक २,२ वर्षमा दिँदै आएको ‘धर्मोदय धम्म पुरस्कार’ यो पालि राष्ट्रपति डा.यादवको हातबाट तिलकमान गुभाजुलाई प्रदान गरिएको थियो।
दशौं राष्ट्रिय बौद्ध सम्मेलनको सफलताको लागि प्रधानमन्त्रीलगायत, विश्व बौद्ध भ्रातृत्व संघ तथा अन्य संघसंस्थाहरुले शुभकामना सन्देश प्राप्त भएको थियो। ‘विश्व शान्तिका प्रतीक महामानव गौतम बुद्धको जन्मस्थल नेपालमा हुनु हामी सबैको लागि गौरवको विषय हो। विश्वमा शान्तिको मुहानको रुपमा चिनिएको लुम्बिनीलाई हामीले हाम्रो मुलुकमा दिगो शान्ति कायम गर्दै विश्वमा शान्तिको सन्देश दिनसक्नु अहिलेको आवश्यकता हो। यसतर्फ धर्मोदय सभाले रचनात्मक सहयोग पुर्‍याउन सक्ने आशा लिएको छु’ प्रमको शुभकामना सन्देशमा उल्लेख गरिएको थियो।
४२ जिल्लाबाट १ हजारभन्दा बढीको सहभागिता रहेको दशौं राष्ट्रिय बौद्ध सम्मेलनको दोस्रो दिन ‘लुम्बिनी विकास र धर्माचरण’ विषयमा उपप्राध्यापक देवेन्द्रराज शाक्यद्वारा प्रतुत कार्यपत्रमाथि व्यापक छलफल तथा टिप्पणी गरियो। समूहगत छलफलको कार्यक्रममा ‘राष्ट्रिय जनगणना र बौद्ध जागरण’, ‘लुम्बिनी विकास र बुद्ध शिक्षा’,'धर्म निरपेक्षता र लोकतन्त्र’,'लुम्बिनीको सुरक्षा तथा वातावरण’ विषयहरुमा छलफल भएको थियो। कार्यपत्रको विषय र छलफल गर्न छानिएका विषयहरु बुद्ध धर्मको संरक्षण, प्रचारप्रसार तथा लुम्बिनीको विकास गर्नाका लागि भविष्यमा कोशेढुंगाको रुपमा साबित हुनेछन्। छलफलको निचोडबाट जारी गरिएको ६ बुँदे लुम्बिनी घोषणापत्रमा उल्लेख गरिएका बुँदाहरु यसप्रकार छन् :
१. २०६८ सालमा हुने जनगणनामा समानुपातिकरुपमा अवसर दिलाउनुपर्ने।
२. राज्यमा घोषणा भइसकेको धर्म निरपेक्षतालाई कार्यान्वयन निष्पक्ष रुपमा गर्नुपर्ने।
३. बौद्ध धामिर्कस्थलमा अबौद्ध क्रियाकलाप हुन नदिन सत्प्रयास जारी राख्ने।
४. लुम्बिनीलाई मद्यमांस एवम् व्यापारिक कारोबारको स्थल हुन नदिन जोड दिने।
५. राज्यमा हिंसा, बलि रोक्न उद्यत हुनुपर्ने।
६. लुम्बिनीको वातावरण विश्वकै मैत्री क्षेत्रको नमूनाको रुपमा विकास गर्ने।
सम्मेलनको सफलतामा आमसञ्चारमाध्यमको पूर्ण सहयोग अविष्मरणीय छ। अन्नपूर्ण ज्ञानमाला संघ र पाल्पा ज्ञानमाला संघद्वारा प्रस्तुत गरिएको बौद्ध भजनले सम्पूर्ण सहभागीलाई आनन्दले विभोर गरिदियो र त्यो क्षण सम्झन लायकको छ।
समापन सभाको मन्तव्य दिने क्रममा एक मात्र महिला वक्ता रुपन्देही शाखाका अध्यक्ष सुश्री विद्यादेवी शाक्यको जोश र जाँगरले भरिएको भाषणले उपस्थित सहभागीहरुको ध्यान आकर्षण गर्न सफल भएको थियो।
४५० जनाको मूल समारोह समिति तथा २१ वटा उपसमितिको कार्यदलको गठन गरी सम्पन्न भएको दशौं राष्ट्रिय बौद्ध सम्मेलनमा यदाकदा त्रुटिहरु नभएका होइनन्। आयोजनले पूर्ण समर्पणका बाबजुद पनि व्यवस्थापनमा केही कमीकमजोरी रहेको सहभागीहरुले महसुस गरे।
सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रित एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुनेछ भनी व्यापक प्रचार भए तापनि अन्त्यमा केही कारणवश उपस्थिति हुन नसक्ने भनी आयोजकले जानकारी दिएपछि जुन हर्षोल्लासका साथ सञ्चालन भएको सम्मेलनको अन्त्य सहभागीहरुले खल्लोपन अनुभव गर्नुपर्‍यो।
अब दुई वर्षपछि हुने अर्को एघारौं राष्ट्रिय बौद्ध सम्मेलनमा दशौं सम्मेलनको घोषणापत्रको कार्य प्रगतिको विवरण प्रस्तुत गरिनेछ भनी समस्त बौद्ध समुदायले अपेक्षा गरेका छन्। दशौं राष्ट्रिय बौद्ध सम्मेलन भगवान् बुद्ध जन्मिएको लुम्बिनीमा धर्मोदय महाचैत्य विहारमा सफलताकासाथ सम्पन्न गर्न सकेकोमा समस्त सहभागीहरुले धर्मोदय सभा र लुम्बिनी धर्मोदय उपसमितिलाई धन्यवाद नदिइरहन सकिँदैन।
नेपालसमाचारपत्र (सोमवार, पुस २०, २०६६) मा प्रकाशित

No comments: