Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

बुद्धजन्मस्थलबारे जकरियाको भ्रामक सन्देश

फरिद जकरिया सुपरिचित अमेरिकी लेखक तथा राजनीतिक विश्लेषक हुन् । अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक पनि ।
जकरियाले धेरै किताब लेखेका छन् । ती मध्ये स्वतन्त्रताको भविष्य (The Future of Freedom) सर्वाधिक बिक्री हुने किताब मध्ये एक हो । नोवल शान्ति पुरस्कार विजेता हेनरी किसिन्जर लगायतले उक्त पुस्तकको मुक्तकण्ठलेे प्रशंसा गरेपछि उनको कद ह्वात्तै बढ्यो ।
मैले केही समय पहिले उनको पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) भन्ने पुस्तक प्रकाशित हुंदैछ भन्ने विज्ञापन पढेको थिएं र त्यो किताव प्रति मेरो लगाव बढेको थियो । एक दिन एक जना कुटनीतिक नियोगमा काम गर्ने मित्रसित ठमेलको कफी हाउसमा भेट भयो । अध्यक्ष क. प्रचण्डको हालैको चीन भ्रमण बारे समीक्षा भयो ।  नेपालको भारत र चीन सितको कुटनीतिक सम्बन्ध कस्तो हुनु पर्ला भन्नेबारे पनि कुरा भयो । कुरा तन्किदै गयो । एशिया र विश्वकै आर्थिक राजनीतिक भविष्यबारे केहिबेर छलफल भयो ।
वर्तमान विश्वको मूल टे्रन शक्ति र आर्थिक प्रगति हो र आगामी युगको नेतृत्व एशिया महाद्वीपले गर्नेछ भन्ने कुरा उनले राखे । एउटा युगको नेतृत्व युरोपले गर्‍यो भने वर्तमान युगको नेतृत्व अमेरिकाले गर्दै आएको छ । वर्तमान युग साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग हो । साम्राज्यवाद र उत्पीडित राष्ट्र र त्यहांका जनताका बीचको अन्तर बिरोधले विश्वलाई नयां समाधानको माग गरेको छ ।
ऐतिहासिक भौतिकवादी हिसावले अब धेरै समय अमेरिकाले नयां युगको नेतृत्व गर्न सम्भव छैन । अबको पालो एशियाई, अफ्रीकी, लेटिन अमेरिकी देशहरूको हो भन्ने बहस जाकरियाले पनि चलाएका छन् ।
‘संसारको सवभन्दा ठूलो जनसंख्या, भूगोल र स्रोतसाधन सम्पन्न देश चीनले विगत आधा शताब्दीमा गरेको आर्थिक विकासले संसारलाई प्रभावित गर्दै लगेको छ । त्यस्तै रुस, जापान, कोरिया, भारत लगायतका देशहरूले हरक्षेत्रमा गरेको विकासले पनि त्यसको पुष्टि गर्छ भन्ने कुरा विश्वका आर्थिक तथा राजनीतिक विश्लेषकहरूको निष्कर्स छ । फरिक जाकरिया र उनको पछिल्लो प्रकाशन अमेरिका पछिको विश्व (The Post American World) भन्ने पुस्तकमा यो कुराको राम्रो विश्लेषण छ ।’  भन्ने चर्चा पनि छलफलको दौरानमा चलेको थियो ।
एकदिन फुर्सद निकालेर पुस्तक किन्न गएं । मण्डेला बुक हाउसमा मैले खोजेका केही पुस्तक किनें । जकरीयाको किताबलाई पहिलो प्राथमिकतामा दिए । किताब अद्योपान्त पढें । मैले यहां उनको किताबको बारेमा विस्तृत टिप्पणी गर्न गैरहेको छैन । मैले पढ्दै जांदा किताबको १५४ पृष्ठको अन्तिम प्याराग्राफमा गम्भीर र आपत्तिजनक प्रसंग भेटें । एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको स्वाभिमानी नेपालीलाई उनको त्यो लेखाइले गहिरो चोट पुर्‍यायो ।
व्यवस्थापिका-संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसलाई गम्भीर रुपमा उठाए । त्यो कुरा गृहमन्त्रीमार्फ संस्कृतिमन्त्रीकहासम्म पुगेछ र राष्ट्रपतिको ध्यानाकर्षण गराएको कुरा पनि जाकारी भयो । जकरियाको बौद्धिक क्षमता र राजनीतिक विश्लेषणको चर्चा र प्रसंशा भैरहेको बेला आफ्नो महत्वपूर्ण ग्रन्थमा विष वाक्यको प्रयोग गरेर सम्पूर्ण देशभक्त स्वाभिमानी नेपालीको मुटुमा मात्र होइन करोडौं बौद्धमार्गीहरूको मुटुमा तिर रोप्ने काम उनले किनगर्नु परेको होला भन्ने कुरा गहिरो गरी लागेकोछ ।
जकरियाले ‘हिन्दुविश्व दृष्टिकोण’ भन्ने उपशिर्षक अन्तगरगत लेख्छन्, ‘बुद्ध भारतीय थिए र बुद्धिजम भारतमा पत्ता लगाइएको थियो तर त्यो देशमा वास्तवमा कुनै बुद्धिष्ट छैनन् ।
बुद्ध नेपाली थिए र नेपालमा जन्मेका थिए  । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ । लुम्बिनी कुनै युगमा पनि विदेशीको अधिनमा थिएन । बरु इशापूर्व ६२५ वर्ष पहिले देखिनै गोरखपुर भन्दा पर कुशीनगर -जहा“ बुद्धको अन्तिम समाधी छ)सम्म नेपाल फैलिएको थियो भन्ने कुरा अध्ययन र अनुसन्धानको विषय बनेको छ ।
प्रशिद्ध मौर्य सम्राट अशोक इ.पु.२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले “हिन्द बुद्ध जाते शाक्यमुनिति” (यहा शाक्यमनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको प्रशिद्ध अशोक स्तम्भ खडा गरे, जुन ज्युंदो प्रमाणको रुपमा हालसम्म संसार सामु खडा छ ।
बुद्धको जन्मस्थल लुम्बिनीलाई संयुक्त राष्ट्र संघले सन् १९९७ मा विश्वसम्पदा सूचिमा सूचिकृत गरेको कुरा विश्वलाई थाहा छ । राष्ट्रसंघको छहारीमुनि घरजम गरेर संसारको महत्वपूर्ण मिडिया न्यूजवीक र सीएनएनको जिम्मेवार व्यक्तिलाई बुद्ध लुम्बिनीमा जन्मेका हुन् र लुम्बिनी नेपालमा पर्छ भन्ने कुरा जानकारी हुनै सकेन भनेर कसरी विश्वास गर्ने ?
बुद्धको बारे जकरियाले त्यति राम्रो जानकारी नभएर यो लेखेका हुन ? हामी त्यो मान्न तयार छैनौं ? सबै धर्मको आध्योपान्त व्याख्या विश्लेषण गर्न सक्ने व्यक्तिले बुद्धको जन्मस्थल बारे अनभिज्ञ छन् भन्न मिल्दैन ।
जाकरिया भारतीय मुलका अमेरिकी नागरिक हुन् । केही भारतीयहरू बुद्ध भारतमा जन्मेको भनेर जानिबुझि बेइमानीपूर्ण प्रचारवाजी गरिरहेका छन् । भारतमा नक्कली लुम्बिनी छ भनेर प्रचार गर्ने वेइमानी हुदै आएको कुरा हामी सवै लाई थाहै छ ।
स्कूल कलेजको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका थिए, भारतीय हुन् भनेर अबोध बालबालिकालाई बेइमानीपूर्ण झुठ शिक्षा दिएर कलिलो दिमागलाई प्रदुषित गरेका छन् । यो भारतीय शासकवर्गको बलमिचाई र विस्तारवादी हर्कतको भद्दा अभिव्यक्ति हो । हामी त्यसप्रकारको हर्कतको भण्डाफोर र विरोध गर्दै आएका छौं ।
त्यसो त नेपालको उच्च शिक्षाको प्राधिकार र आधिकारिक केन्द्र त्रिविविको पाठ्यक्रममा पनि बुद्ध भारतीय थिए भन्ने कुरा घुसाइयो भनेर केहीवर्ष पहिले बबाल भएको थियो । नेपालमा उच्चशिक्षाको तहसम्म नेपाली आवरणमा भारतीय आत्मा बोकेका व्यक्तिको घुसपैठको नेपालको उच्चशिक्षाको तहसम्म पुगेको हेक्काराख्न नसक्ने त्रिवि प्रशासन र पदाधिकारी बौद्धिक हैसियत र राष्ट्रप्रतिको जिम्मेवारी कति बहन गर्ने रहेछन् भन्ने कुरा प्रष्ट भयो । त्यस्तै एउटा भारतीय चलचित्रमा बुद्ध जन्मस्थल भारतमा हो भनेपछि नेपालमा त्यसको विरोध हुंदा त्यो चलचित्र प्रदर्शनमा प्रतिबन्ध लागेको थियो ।
बुद्ध दर्शनका लागि नेपाल आउने लाखौं कोरियन, इण्डोनेशियाली, चाइनिज, जापानी थाइ वा संसारको जुनसुकै देशका बौद्धिष्टहरूले जाखरियाको यो किताब पढेपछि के भन्लान् ? तर जे भए पनि बुद्धको बारेमा कम जानारी राख्ने बाकी विश्वमा जकरियाको त्यो भनाइले ठूलो भ्रम सिर्जना गरेको छ ।
जान वा अन्जानमा लेखिएको उक्त वाक्यलाई जकरियाले फिर्ता लिनुपर्छ । आगामी संस्करणमा त्यसलाई सच्चाउनु पर्छ । उनीजस्तो जिम्मेवार बौद्धिक व्यक्तित्वले नेपाली जनता र विश्वबौद्धिक समुदायसामु गल्ती लेखिन गएकोमा क्षमायाचना गर्नुपर्छ । के फरिद जकरिया त्यसका लागि तयार होलान् ?
एक सामान्य मानिसको अज्ञानताबाट बुद्ध भारतीय हुन् भन्ने लेखिएको भए त्यसलाई गम्भीर रुपमा उठाउनुपर्ने थिएन । विश्वको चर्चित मिडियाका जिम्मेवार र चर्चित व्यक्तिले आधिकारिक रुपमा विश्वसामु पस्केको गल्तीको पुलिन्दालाई चुपचाप सहन मन मानेन । मनमा औडाहा चल्यो । त्यसैले मेरो प्यारो मातृभूमिमा अवस्थित लुम्बिनी पुगेर फेरि एकपटक पावन भूमिको स्पर्श गरें । लुम्बिनी विकास कोषका पदाधिकारीहरू र कर्मचारीहरूसमेतसित यसै विषयमा अन्तक्रिर्या भयो । विश्व सम्पदा सूचिमा सुचिकृत गरेको पत्र, जुन प्रवेशद्वारमा ताम्रपत्रमा राखिएको छ, लाई क्यामेरामा कैद गरें । अशोक स्तम्भमा लेखिएको पाली भाषको ऐतिहासिक प्रमाणलाई पनि छाडिन । घर फर्के र राहुल सांस्कृत्यायनको दर्शन दिग्दर्शन फेरि एकपटक अध्यययन गरें । उनी पनि बुद्ध जन्मस्थल लुम्बिनी आएका थिए तर उनले लुम्बिनी भारतमा पर्छ भनेर कतै लेखेनन् ।
अमेरिकी मिडियामा गोएवल्स शैलीको बर्चश्व रहने गरेका छ । अमेरिकी मिडियामा काम गर्ने संसारको जुनसुकै देशमा जन्मेको भए पनि त्यो शैलीको प्रभाव पर्नु स्वभाविकै हो । गौतम बुद्ध सांच्चै भारतीय हुन् भनेर प्रमाणित गर्न जाकरिया तयार छन् । यदि त्यसो होइन भने र उनी जिम्मेवार लेखक, विश्लेषक र पत्रकार हुन् भने उनले विश्वसामु आफ्नो मिडियामार्फत भूल स्वीकार गरेर आफ्नो इमान्दारी प्रकट गर्ने साहस गर्नुपर्छ । के त्यो संभव होला ?
लेखक शर्माको www.dnsharma.com आफ्नै वेवसाइट पनि हालैदेखि शुरु भएको छ ।

No comments: