Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

कपिलवस्तुको पीडा- लुम्बिनी बिनाको कपिलवस्तु र कपिलवस्तु बिनाको लुम्बिनी

*नारायणप्रसाद पौडेल


कमजोर घरको छोराले छरछिमेकमा ज्याला-मजदुरी गरेर परिवार पाल्छ। मुग्लान, अरब या कोरियातिर गई कमाइ गरेर विदेशी मुद्रा पठाउँछ र घर चलाउँछ। नेपालका गाउँघरको चलन यस्तै छ। २ हजार ५ सय वर्षपहिले एक रात अकस्मात् घर छाडेर पर्देशिएको छोराले अहिले पनि विश्वका विभिन्न देशबाट विदेशी मुद्रा पठाउँदै छ। घर चलाउन सघाउँदै छ। त्यो छोरो हो गौतम बुद्ध। उसको घर हो कपिलवस्तु। तर दुःखका साथ भन्नुपर्छ- गौतमबुद्धले पठाइदिएको त्यो रकम बीचैमा हराउँछ, कपिलवस्तुसम्म पुग्दैन। आफ्नै सन्तानले कमाएको कमाइबाट कपिलवस्तु वञ्चित छ। त्यसैले कपिलवस्तु सधैं चिन्तित र पीडित छ। कपिलवस्तुको यो चिन्ता र पीडा कसले बुझ्ने?
गौतमबुद्ध सिंगो नेपालका सन्तति हुन्; कहिल्यै नअस्ताउने एसियाका तारा हुन्; धर्मावलम्बीहरूका भगवान् हुन्; भौतिकवादीहरूका दार्शनिक हुन्; योगीहरूका गुरु हुन्; त्याग, तपस्या र समर्पणका नायक हुन्; सामाजिक न्याय र समानताका प्रतिक हुन्; सामाजिक जागरण अभियानका अभियन्ता हुन्; विश्वशान्तिका अग्रदूत र मानअधिकारका प्रणेता हुन्; अहिंसा, दया, क्षमा र करुणाका खानी हुन्। उनलाई कुनै एउटा जिल्ला, क्षेत्र र देशको सीमामा बाँध्न सकिँदैन। तर सकिँदैन भन्दैमा उनको घरलाई उजाड बनाएर उनका नाउँमा आएको रकम अन्यत्र दुरुपयोग गर्न पनि पाइँदैन।

लुम्बिनी, गौतमबुद्ध जन्मेको पवित्र तीर्थस्थल हो। कपिलवस्तु, सांख्ययोग दर्शनका प्रणेता कपिलमुनिको तपोभूमि, कनकमुनि र क्रकुच्छन्द बुद्धको जन्मस्थल तथा गौतमबुद्धले २९ वर्षसम्म जीवन बिताएको ठाउँ हो। शाक्य वंशीय राजा शुद्धोदनको राजधानी पनि हो। देवदह गौतमबुद्धको मावली र ससुराली हो। रामग्राम गौतमबुद्धको आठौं अस्थीधातु राखिएको स्तूप हो। यी सबै ठाउँ उत्तिकै पवित्र, महत्वपूर्ण, दर्शनीय छन् र पूजनीय पनि छन्। अशोक स्तम्भ र स्तूपले यसको प्रमाण पेस गरेका छन्। ती ऐतिहासिक र पुरातात्विक स्तम्भ, स्तूप र स्मारकले कुन स्थानको कति महत्व छ भन्ने सन्देश पनि दिएका छन्। तत्कालीन मगध नरेश, चक्रवर्ती सम्राट अशोक (ई.पू. २५१-२४५)ले स्तम्भ र स्तूप निर्माणद्वारा दिएको सन्देश र संकेत हामीले अझै बुझ्न नसकेका हौं कि, बुझेर पनि बुझ पचाएका हौं? योचाहिँ खोजीकै विषय भएको छ।
लुम्बिनी प्राचीन कपिलवस्तुकै भूभाग हो। प्राचीन कपिलवस्तु र कोलीय राज्यको सीमा रोहिणी नदी लुम्बिनीभन्दा पूर्वमा हुनु त्यसको दह्रो प्रमाण हो। तर यहाँका शासकहरूले अन्तर्राष्ट्रियस्तरबाट बर्सेनि बुद्धका नाउँमा आउने रकम काठमाडौं र लुम्बिनीमा पोखेर कपिलवस्तुलाई उपेक्षा गर्नाले कपिलवस्तुको अपमान हुन गएको छ। बुद्धले पठाएको रकम उनकै घरमा पुगेको छैन। छोराले पठाएको रकम पहिले उसका घरमा पुर्‍याएपछि अनि अरूले बाँडिचुँडी लिनु जायज हुन्थ्यो। यहाँ त्यही भएन। अन्याय भयो।
अहिलेको संसारमा पौने २ अर्ब बुद्ध धर्मावलम्बीहरूको जनसंख्या रहेको अनुमान छ। त्योबाहेक गौतमबुद्धको दर्शन, विचार, जन्मस्थाल र क्रीडास्थलको वर्तमान अवस्थाका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने, तत्कालीन सभ्यताको खोज गर्न चाहने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक एवम् पर्यटन प्रवर्द्धनका लागि प्रत्यक्ष अवलोकन गर्न चाहनेको संख्या पनि कम छैन। त्यो संख्याको वार्षिक दुई प्रतिशत मात्र पर्यटक भित्र्याउने हो र तिनले प्रतिव्यक्ति २ सय डलर मात्रै खर्च गर्ने हो भने त्यो रकमले हाम्रो सिंगो नेपाल पालिन सक्छ। अर्थात् गौतमबुद्धका नाउँमा आएको रकम त्यसै क्षेत्रको संरक्षण, दिगो विकास र प्रचारप्रसारमा लगाउने हो भने कपिलवस्तुले सिंगो नेपाल पाल्न सक्छ। नेपालले कपिलवस्तुका लागि लगानी गर्न पर्दैन, तर पनि यतातिर सम्बन्धित निकायले समुचित ध्यान दिएको पाइँदैन।
कपिलवस्तु विना बुद्ध र बुद्ध विनाको कपिलवस्तु कसैले कल्पना पनि गर्दैन। लुम्बिनी विनाको कपिलवस्तु र कपिलवस्तु विनाको लुम्बिनीको पनि कसैले कल्पना गर्न सक्दैन। तर जुन कुरा वा कामको कसैले कल्पना पनि गर्न सक्दैन, त्यही काम यहाँ हुने गरेको छ। कपिलवस्तु र लुम्बिनीलाई अलग गरिएको छ। एकीकृत विकासमा विभाजन ल्याइएको छ। यसले हाम्रो विश्वसनीयतामा शंका उत्पन्न गराएको छ। जानेर हो वा नजानेर, अन्तर्राष्ट्रियस्तरमा भ्रम फैलाउनेलाई झन् सजिलो बनाइदिइएको छ।

1 comment:

aakash said...

In 249 BC, the Buddhist convert Emperor Ashoka visited Lumbini and constructed four stupas and a stone pillar. Ashoka's Pillar bears an inscription that translates as: "King Piyadasi (Ashoka), beloved of devas, in the 20 year of the coronation, himself made a royal visit, Buddha Sakyamuni having been born here, a stone railing was built and a stone pillar erected to the Bhagavan ["blessed one"] having been born here. Lumbini village was taxed reduced and entitled to the eight part (only)".
Monasteries and temples were built at Lumbini until the 9th century, but Buddhism declined in the area after the arrival of Islam and later Hinduism. All that remained was a sculpture, revered by local women as a fertility symbol. The garden of the Buddha's birth was lost for a thousand years.
The site was rediscovered in 1895, when a German archaeologist came upon Ashoka's Pillar, identified by its inscription. Records made by the Chinese pilgrim Fa Xian were also used in the process of identifying this religiously acclaimed site. Lumbini was designated a UNESCO World Heritage Site in 1997.