Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, March 27, 2011

रुपन्देहीमा बुद्धकालीन अवशेषको विजोग

Posted by Ram Kumar Shrestha on August 27, 2010
भैरहवा, भदौ ११। पर्रोहा ६ सैनामैनामा बुद्धकालीन अवशेष  छरपष्ट रूपमा भेटिएका छन्।
ती अवशेष संरक्षणतर्फ भने सम्बन्धित निकायको ध्यान नगएको भन्दै स्थानीय बासिन्दा चिन्तित भएका छन्। सैनामैना क्षेत्रमा बुद्धका मूर्तिदेखि बुद्धकालीन अवशेष प्रशस्त भेटिने गरे पनि ती अलपत्र अवस्थामा रहको स्थानीय बासिन्दाको भनाइ छ।
यहाँ भेटिएका बुद्धसँग सम्बन्धित महत्वपूर्ण वस्तु बुद्ध जन्मभूमि लुम्बिनीमा समेत लगिएको उनीहरूको दाबी छ।
खेतमा खनजोत गर्दा जताततै मूर्ति तथा अवशेष भेटिएपछि स्थानीय वासिन्दाले सङ्ग्रहालयसमेत बनाएका छन्।  त्यहाँ उनीहरूले केही मूर्ति तथा वस्तु राखेका छन्।
त्यस्तै यहाँ बुद्धकालीन ११ वटा कुवा रहेकामा दुइटा बाहेक सबै पुरिएका छन्। यहाँ वडा कुवा र रानी कुवा अस्तित्वमा छन्। तीमध्ये रानी कुवामा चारैतिर पानी सुक्दा पनि नसुक्ने गरेको स्थानीय बुढापाकाहरूको भनाइ छ। यो विशेष प्रकृतिले बनाइएको छ। यो क्षेत्रलाई विकास गर्न पुरातत्व विभाग तथा लुम्बिनी विकास कोषले विशेष ध्यान दिनुपर्ने माग स्थानीय वासिन्दाको छ।  
सैनामैनालाई बुद्धसंग सम्बन्धित अन्य स्थान सरह विकास गर्नुपर्ने माग  उनीहरूको छ। विसं २०२२ तिर यहाँ वस्ती सुरु भएको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय शिव मन्दिरमा पूजाआजा गर्दै आएका सादु तुला हमजाली आफू पूर्वपश्चिम राजमार्ग खुल्दादेखि नै यो स्थानमा आएको र त्यतिबेला ढाँचा समेत भिन्दै रहेको उनी बताउँछन्।
सैनामैना घर भएका एकीकृत माओवादीका केन्द्रीय सदस्य भक्ति पाण्डेले यहाँ भेटिएका पुराना वस्तु हेर्दा ती बुद्धकालीन हुन भन्ने आधार रहेको बताउँदै यस्तो महत्वपूर्ण स्थान किन पछाडि पर्‍यो भनेर आफूहरूले चासो देखाएको जानकारी दिनुभयो।
दरबारका भग्नावशेष पनि यहाँ रहेको जानकारी गराउँदै एमाओवादी नेता पाण्डेले राष्ट्रिय सम्पत्तिका रूपमा यसलाई विकास गर्नुपर्ने खाँचो औंल्याउनुभयो। यहाँ भेटिएका महत्वपूर्ण वस्तुको संरक्षण थाल्न र उत्खननका लागि पहल गर्न लुम्बिनी विकास कोषका पदाधिकारी तथा पूरातत्वविद्लाई अवलोकन गराएको जानकारी पनि पाण्डेले दिनुभयो।
यता सैनामैना क्षेत्रको अवलोकनमा आएका लुम्बिनी विकास कोषका सदस्यसचिव राजेन्द्र थापा मगरले पौराणिक वस्तु संरक्षण गर्नेदेखि बुद्धसँग सम्बन्धित क्षेत्रको विकासमा स्थानीय जनता उत्साही भएको आफूले पाएको बताउनुभयो।
यहाँको विकासका लागि पुरातत्व विभागले चासो दिनुपर्ने बताउँदै थापाले कोषका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
Weekly Nepal

No comments: