पुरातत्व विभागका महानिर्देशक विष्णु कार्की भन्छन्- “संरक्षण कार्यले लुम्बिनीमा रहेका उक्त तीनवटा स्मारकहरुलाई थप क्षति हुनबाट बचाउनेछ। त्यसका लागि हामी सबै सुविधाहरु उपलव्ध गराउने छौं, जसले गर्दा ती स्मारकहरुको उद्गमस्थलमा नै संरक्षण गर्ने कार्य सकेसम्म छोटो समयमा नै सफलपूर्वक सम्पन्न हुन सकोस्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्ग्पो शेर्पा भन्छन्- “हामी लुम्बिनीमा रहेर टोलीको कामलाई रेखदेख गर्नेछौं, जसले गर्दा धार्मिक तथा आध्यात्मिक महत्व कायमै रहनेगरी उक्त स्मारकहरुको संरक्षण गर्ने कार्यमा सघाउ पुग्नेछ।”
युनेस्कोका नेपाल प्रतिनिधि तथा नेपालस्थित युनेस्को कार्यालयका प्रमुख एक्सल प्ल्याथ भन्छन्- “लुम्बिनीमा रहेका ती स्मारक जीर्ण अवस्थामा छन् र अब तिनीहरुको संरक्षण हुनु महत्वपूर्ण कुरा हो। ती स्मारकहरुलाई उद्गमस्थलबाट नहटाई सोही स्थानमा नै संरक्षण गर्न सकियोस् भनेर नै युनेस्कोले इटालीदेखि संरक्षण विज्ञहरु झिकाएको हो।
संरक्षण कार्य “भगवान बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण तथा व्यवस्थापन” नामक वृहद् परियोजनाको एउटा भाग हो, जुन विश्व सम्पदा केन्द्रहरुमा देखा परेका विभिन्न सवाल तथा चुनौतीहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् २०१० मा सुरु गरिएको थियो। यो विषय मायादेवी मन्दिर क्षेत्रभित्रका जीर्ण बन्दै गईरहेका भग्नावशेषदेखि सम्पदा क्षेत्रभित्र र मध्यवर्ती क्षेत्र जस्तै जोडिएका गाउँहरुमा समेत रहेका पूर्णरुपमा थाहानभएका र सर्वेक्षण नभएका पुरातात्विक अवशेषहरुसम्म फैलिएको छ।
यो परियोजनालाई “विश्व साँस्कृतिक सम्पदाहरुको संरक्षणको लागि जापानी कोष” मार्फत जापान सरकारले आर्थिक सहयोग प्रदान गरेको छ भने काठमाडौंस्थित युनेस्को कार्यालयले समन्वय गरेको छ। तीन वर्षे यस संरक्षण कार्यक्रम मौर्य संरचना तथा मायादेवी मन्दिर आसपासका पुरातात्विक क्षेत्र, शीला लेख, अशोक स्तम्भ तथा जन्मसँग सम्बन्धित मुर्तिहरुको व्यवस्थित संरक्षण, मायादेवी मन्दिरको अवस्थाको सुक्ष्म अनुगमन तथा लुम्बिनी विकास कोष एवम् पुरातत्व विभागको क्षमता विकासमा केन्द्रित छ।
No comments:
Post a Comment