Posted by Ram Kumar Shrestha on November 6, 2010
ekantipur By माधव ढुंगाना
भैरहवा, कार्तिक २० – बुद्ध जन्मस्थल लुम्बिनीको नाममा आफ्नो दुनो सोझ्याउने व्यक्तिको कमी छैन । बुद्धको नाममा सहजै सहयोग जुटाउन सकिने भएका संस्था खोलेर चन्दा माग्ने प्रवृत्ति विदेशमा समेत विस्तार हुँदै छ । एक जापानी नागरिकले भने लुम्बिनीप्रति समर्पित हुँदै त्यसको विकासमा सघाउन करोडौं खर्च गरेर तीन तारे होटल सञ्चालनमा ल्याएका छन् ।जापानको टोकियो निवासी ६५ वर्षीय नोबुओ कासाईले लुम्बिनी परिसरमा खोलेको तीन तारे ‘होटल लुम्बिनी कासाई’ को सबै मुनाफा लुम्बीनीको विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।
‘होटलबाट प्राप्त हुने सबै नाफा लुम्बिनीको विकासमा खर्च गर्छु,’ उनले भने, ‘म लुम्बिनीको नाममा व्यापार गर्न आएको
होइन । मलाई नेपालबाट पैसा कमाएर लैजानु पनि छैन । उनले यो होटल आफ्नोतर्फबाट लुम्बिनी र स्थानीय बासिन्दाका लागि उपहारका रूपमा रहने बताए । ४० वर्ष उमेरको छँदा तीन-चार वर्षसम्म मुटुको बिरामी भएर जीवनमरणको दोसाँधमा रहेका बेला बाँचेको खण्डमा लुम्बिनीमा केही गर्ने संकल्प गरेको कासाईले बताए । ‘त्यही संकल्प पूरा गर्न होटल बनाएको हुँ,’ उनले भने ।
कासाई जापानमा रियलस्टेटको कारोबार गर्ने धनाढ्य व्यवसायी हुन् । जापानमा सबैभन्दा धेरै कर तिर्ने दस हजार व्यक्तिमध्येका कासाई एक भएको उनलाई जापान छँदैदेखि नजिकबाट चिन्ने स्थानीय डा. तारा सापकोटाले बताए । कानुनमा वातावरणसम्बन्धी विद्यावारिधि गर्न जापानको नागोया विश्वविद्यालयमा रहेका सापकोटासँग कासाईको भेट भएको थियो । त्यसपछि उनी नेपालमा लगानी गर्न उत्साहित भएका थिए ।
लुम्बिनीमा होटल सञ्चालनका निम्ति कासाईले सुरुदेखि १ अर्ब १ करोड येन -करिब ३६ करोड रुपैयाँ) खर्च गरेका छन् । ‘होटलले निरन्तरता पाओस् भन्ने उनको चाहना छ,’ सापकोटाले भने, ‘यसका कामदारलाई समेत उनी सन्तुष्ट राख्न चाहन्छन् । त्यसका लागि कासाईले व्यक्तिगत धेरै सम्पत्ति बेचेर नेपाल ल्याएका छन् ।
No comments:
Post a Comment