Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, February 3, 2010

कपिलवस्तु दिवसमा मेरो दिन चर्या


१ डिसेम्बर २००९ आजको दिनलाई मैले आफ्नो नियमित कामधन्दालाई एकातिर पन्छाएर कपिलवस्तु दिवसको प्रचार प्रसारमा सरिक हुनको लागि छुट्याएको थिएँ । औपचारिक रुपमा कार्यक्रम लान नसके पनि मैले केही साथीहरुको सहयोगमा कपिलवस्तु दिवसको लागि तयार गरिएको लोगो र यो दिनको सम्झनामा वितरणको लागि तयार गरिएको लेखहरु, जुन मैले www.worldamity.wordpress.com बाट डाउनलोड गरेको थिएँ, र मैले आफैले तयार गरेको दुई लेख समेत केही प्रति फोटोकपि गरी वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी नेपालभाषा केन्द्रीय विभागका अध्यक्ष प्रेमशान्ति तुलाधर र अन्य गण्यमान्य व्यक्तित्वहरु ( उहाँहरुको नाम सम्झन सकिनं) लाई अनौपचारिक रुपमा हस्तान्तरण गरें । उहाँहरु नेपालभाषा एकेडेमी कीर्तिपुरमा पुस्तक विमोचन कार्यक्रममा पाल्नुभएको थियो र मैले यही मौकाको उपयोग गरेको थिएँ । मैले  केही साथीहरुलाई औपचारिक कार्यक्रम नै आयोजना गर्न सकिन्छ कि भनेर सहयोग पनि मागेको थिएँ केही दिन अगावै । तर साथीहरुबाट भने जस्तो सहयोग पाउन नसकेको कारणले औपचारिक कार्यक्रम गर्ने सपना अधुरै रह्यो । श्रद्धेय रामकुमार श्रेष्ठज्यूबाट पनि ईमेलमा मलाई कुनै औपचारिक कार्यक्रम छ भने कही प्रस्तावित गरिएको छ भने सूचना उपलब्ध गराउन भन्नु भएको थियो
By राज श्रेष्ठ, किर्तिपुर
आजै नेपाल टुरिज्म बोर्डमा आइटिसम्बन्धि वरिष्ठ अधिकृत श्री समिर वज्राचार्यजीलाई पुस्तिका हस्तान्तरण गरेँ । उहाँले केही दिन अगाडि नै थाहा पाउन सकेको भए केही प्रोमोशनल पनि गर्न सकिन्थ्यो कि भन्नुभयो र बोर्डको वेवसाइटमा सामाग्री राख्न कोशिस गर्नेछु भन्नु भयो । केही दिन अघि नै उहाँलाई जानकारी गराउनु पर्ने मौका गुम्न गयो भन्ने लाग्यो । त्यसपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा पाठकहरुले पढुन भनेर केही पुस्तिका छोड्ने विचारले म भृकुटीमण्डपतिर लागेँ । आज विहानदेखि फेसबुक अपडेट गर्न नपाएको र झन आजै कपिलवस्तु दिवसमा साथीहरुलाई सामाग्री अपलोड गर्न भ्याइनभ्याइ होला भन्ने विचार लिई ठमेलमा साथी शालिकराम डंगोलकहाँ साइबरमा पसें । फेसबुकमा कपिलवस्तु दिवसलाई विशेष महत्वका साथ सार्थीहरुले पोस्टिङ् गरिरहेको देखेर मनभित्र असीम शान्तिको अनुभव भयो । महिनौं अगाडिदेखि श्रद्धेय रामकुमार सर, कविताराम सर लगायत अन्य साथीहरुबाट अथक रुपमा गरिएको प्रयासले लाग्यो कपिलवस्तु साँचिक्कै सजीव भएर उठेको छ र आफ्नो अस्तित्व यस संसारमा पुनः प्रमाणित भएको यो दिनमा सयकडौं नेपाली आत्माहरुको अभिवादन स्वीकार्दै यो हिमालय फेदीमा अजर अमर भएर स्थापित भएको छ । अपूर्व सन्तुष्टीको अनुभव गर्दै केही पोस्टिङ् मैले पनि गरेँ । समय बितेको पत्तै नपाइने २ घण्टा भन्दा बढी फेसबुक ब्लग मै हराइरहेँ ।

आज पुस्तकालयमा हराइरहँदा छापाका साचार माध्यममा कुनै समाचार झुल्कन्छ कि भन्दै दैनिक पत्रिकामा आँखा डुलाइरहेँ । नागरिक दैनिकमा साथी लक्ष्मण पुरीको लेख “चिरौं वुद्धजन्मस्थलको भ्रम” शिर्षकमा छापिइएको थियो । सँगै मेरो लेख कपिलवस्तु दिवसको परिचयात्मक रुपमा मात्र लेखी प्रेषित गरेको थिएँ छापिइएको थियो । जे होस् नागरिक दैनिकले आज कपिलवस्तु दिवस हो र वुद्ध जन्मस्थलको बारेमा भारतीय भ्रामक प्रचारको बारेमा जानकारी दिने उद्देश्यले लेख छापिएकोमा खुशी लाग्यो । लक्ष्मण पुरीजीको लेखमा कपिलवस्तुको वर्तमान अवस्था र वुद्ध जन्मस्थल बारेको भ्रामकतालाई चिर्ने प्रयास गरिएको थियो । लेखसँग सम्बन्धित कलाकारद्धारा कल्पना गरिएको चित्रले नेपालतर्फको वुद्ध जन्मस्थलबाट एक भारतीयले पुरातात्विक वस्तुहरु भारततर्फको लग्दै गरेको र भारतीय भूमिमा वुद्धजन्मस्थल भनेर बोर्ड टाँगिएको देखाइएको छ र आकाशबाट भगवान् वुद्ध यस्तो दृष्य हेर्दै पसिना काट्दै अचम्भित हुँदै ध्यानमग्न हुने दुबै आँखामध्ये एक आँखा खोलेर यो चोरीको दृष्य हेरिरहेको छ । कलाकारको कल्पनाशीलतालाई धन्यवाद दिन मन लाग्छ । अन्य दैनिक पत्रपत्रिकामा भने कुनै समाचार नपाइएकोले मन नमीठो भयो ।
साँझ घर आइसकेपछि टेलिभिजनका पर्दामा कही कतै कपिलवस्तुबारे कभरेज आइरहेको छ कि भनेर सस्रती नेपाली टेलिभिजन च्यानलहरु स्क्यान गरेँ । कहीँ कतै पनि कभरेज नभए पछि निराश हुँदै एफएममा कान थापिरहें । आज फेसबुकमा मैले इमेज न्यूज एफएममा कपिलवस्तुसम्बन्धी केही बोल्छु भनेर गर्वका साथ पोस्टिङ् गरेको थिएँ । के बोल्ने भनेर खेस्रा तयार पारेँ एक दुई पटक रिहर्सल पनि गरेँ । फोन लगाउनु पर् यो भनेर टेलिफोनको रिसिवर उठाएँ । लोडसेडिङ्को समय इमरजेन्सी लाइटमा खेस्रा अगाडि राखेर डायल भएको धेरै पटक भयो तर फोन पाउन नै सकिनँ । बारंबार प्रयास गरेँ,  अहँ फोन लाग्दै लागेन लाग्दै लागेन । नरमाइलो अनुभव भइरहेको थियो । मैले खेस्रालाई दुई तीन पटक ठूलो ठूलो स्वरले पढेँ । यसबखत मेरो वरिपरि जे जति जीवात्मा छन् सबैले सुनिरहेको हुनुपर्छ सम्भव छ सात समुन्द्र पारीका मेरा मित्रहरु सुजनजी, लक्ष्मणजी सबैले सुनिरहेको हुनुपर्छ श्रद्धेय रामकुमार सर कविताराम सर मेरो भरखरै टुसाएको लेखनीलाई सुन्दै छन र ढाढस् दिइरहेका छन् र निराश नहुन भनिरहेका छन् । मलाई फेरि एकपल्ट एफएममा बोल्न भनेर तयार गरेको खेस्रा सुनाउन मन लागेको छ ।
कपिलवस्तु दिवसमा नेपाली मिडिया र सरकारको उदासिनता:

आज कपिलवस्तु दिवसको सन्दर्भमा यहाँहरु समक्ष राजनीतिभन्दा पृथक रहेर केही कुरा निवेदन गर्ने अनुमति चाहन्छु । १ डिसेम्बर १८९६ मा आजैको दिन जर्मन पुरातत्वविद् डा. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो । यस अशोक स्तम्भमा भगवान् वुद्धको जन्म यही लुम्बिनीग्राममा भएको हो भनेर उल्लेख गरिएको छ । यति महत्वपूर्ण दिनको सम्झनामा यस दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाउन विदेशस्थित नेपालीहरु र नेपाल भित्रकै देशभक्त नागरिकहरुले संयुक्त पहल गरेका छन् । विद्युतीय साचार सामग्रीको पहुँचका कारण विश्व नै एक ग्लोबल भिलेजको रुपमा विकास भइरहेको परिप्रेक्ष्यमा आधुनिक इन्टरनेट प्रविधिमा आधारित सामाजिक सजाल फेसबुक, ट्विटर, ब्लग र वेवसाइटहरुमा  वुद्धसँग सम्बन्धित सामाग्रीहरु र कपिलवस्तुसँग सम्बन्धित ऐतिहासिक र पुरातात्विक तथ्यहरु समेटिएका लेखहरु प्रशस्तै राखिएका छन् । यस बाहेक विदेशी राजदूतावास र नेपालमा स्थानीय रुपमा कार्यक्रमहरु भइरहेका समाचार पनि कपिलवस्तु दिवसकै ब्लगमा राखिएका छन् । तर आजको दिन यति महत्वपूर्ण हुँदा हुँदै पनि  यो गौरवशाली दिनको सम्झनामा नेपाली मिडियामा छापा र विद्युतीय एफएम तथा टेलिभिजनमा अत्यन्त थोरै मात्र समाचार संप्रेषित भएको पाउँदा अत्यन्त दुःखको अनुभव हुन्छ । कपिलवस्तु दिवसको सम्बन्धमा म आफैले छापा तथा विद्युतीय मिडियामा ईमेल गरेर यो दिवसको सान्दर्भिकता र महत्वलाई स्थान दिन अनुरोध गरेको थिएँ । तर दुर्भाग्य भनौ कि हाम्रो नियति नै यस्तै मैले धेरै पहिलेदेखि सुनेको “हामी आर्थिक रुपमा मात्र होइनौं विचारमा पनि दरिद्र नै छौं” भन्ने विचारसँग सहमत हुन करै लाग्यो । आज धेरै विदेशीहरुलाई भगवान् वुद्धको जन्मस्थलको बारेमा भ्रम रहेको छ र भारतले उत्तर प्रदेशको पिपरहवालाई प्राचीन कपिलवस्तु भनेर प्रचार प्रसार गरिरहेको छ । वुद्ध भारतीय हुन र उन्को जन्म भारतमा भएको हो भनेर राष्ट्रिय अन्तरराष्ट्रिय बिरोधका बाबजूद भन्ने मात्र नभएर अथाह आर्थिक लागानी गर्दै  नक्कल्ली कपिलबस्तु निर्माण समेत गरिरहेको छ भारतीहरुले । यस्तो अवस्थामा वुद्धको जन्म लुम्बिनी कपिलवस्तुमा भएको हो भनेर प्रमाणित गर्ने अशोक स्तम्भ पत्ता लगाइएको आजको दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाउने जुन महत्वपूर्ण निर्णय गरियो त्यस्लाई बिशेषत: ठूला भनिएर चिनिएका नेपाली छापा र सरकारले कुनै महत्व नदिनु अत्यन्त उदेक लाग्दो कुरो हो ।

No comments: