By हरि नेपाली [1]
केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन ।
शायद जतिसुकै हस्तक्षेप भए पनि चुपचाप बसिरहने नेपालको लाचार सरकारकै कारण होला भारतीय विभिन्न निकायहरु गौतमबुद्धको जन्मस्थल लुम्बिनी, कपिलबस्तुलाई समेत नेपालमा नभै भारतमा भएको विश्वव्यापी रुपमा भ्रम सिर्जना गर्न लागि परेका छन् भने बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको जस्तै भौतिक संरचना सन् २०१२ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी असी प्रतिशतभन्दा बढी काम पनि सकिसकेको छ । जसले गर्दा निकट भविष्यमा नै नेपालमा रहेको लुम्बिनी नक्कली हो भन्ने प्रचारप्रसारमा भारतीय पक्षहरु लाग्ने देखिन्छ । त्यसैले भारतीय पक्षको उक्त भ्रमलाई चिर्दै सांस्कृतिक, आर्थिक र पर्यटकीय रुपमा नेपालको महत्वपूर्ण क्षेत्र तथा शान्ति र अहिंसाका प्रतिमूर्ति भगवान् गौतम बुद्धको जन्मस्थल कपिलबस्तुलाई चिनाउने उद्धेश्यका साथ भर्खरै मात्र कपिलबस्तु दिवस विश्व कार्यसमितिको गठन हुन पुगेको छ भने बुद्ध जन्मेको स्थान नेपालको लुम्बिनी नै हो भन्ने बलियो प्रमाणको रुपमा रहको अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् अन्टोन फुहररले विश्व सामु ल्याएको दिनको सम्झनामा प्रत्येक बर्ष “कपिलबस्तु दिवस” मनाउँने निर्णयका साथ गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिबसको रुपमा बिभिन्न कार्यक्रमका साथ बिभिन्न देशमा मनाएको छ ।
विभिन्न देशहरुका विद्यालय तथा कलेजका पाठ्यपुस्तकहरुमा लुम्बिनी भारतमा रहेको उल्लेख हुनु, त्यही अनुरुप प्रचारप्रसार हुनु र भारतले पनि बुद्ध भारतमा जन्मेको भन्ने भ्रम सिर्जना गरेर भौतिक संरचना निर्माण गर्नुले भारतले सीमा अतिक्रमणका अलावा अन्य नेपाली राष्ट्रिय अस्मिताको विषयहरुमा समेत आँखा गाडेको प्रष्ट हुन्छ । साँस्कृतिक तथा पर्यटकीय महत्वको स्थान लुम्बिनीको विषयमा विश्व जनमानसलाई गुमराहमा राख्ने षड्यन्त्र भइरहेको छ । यदि यस्तै भैरहने हो र हामी नेपालीहरु चुपचाप बसिदिने हो भने आगामी दिनहरुमा अन्य स्थलहरु पनि भारतमा नै पर्छ भन्ने प्रचारवाजी गर्ने अवस्था सिर्जना नहोला भन्न सकिदैन जबकि केही समयहरुमा सगरमाथा पनि भारतमा नै पर्छ भन्ने प्रचारबाजी सुरु भइसकेको छ । त्यसैले हामीले यी भ्रमहरुलाई गम्भीर ढंगले लिन र सचेत तरिकाले चिर्न सख्त जरुरी भएको छ । त्यसको लागि हामीले सरकारी स्तरबाट भारतीय सरकारबाट भइरहेको हस्तक्षेपकारी भूमिकामा सचेत गराउँदै त्यसप्रति कुनै न कुनै रुपमा गर्न र बोल्न दबाब दिने र विभिन्न माध्यम तथा पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थलका बारेमा भ्रम सिर्जना गर्ने खालका पाठ्यबस्तुहरुलाई सच्याउन कुटनैतिक रुपमा पहल गर्नको लागि दवाव सिर्जना गर्ने काम यो अभियानले गर्नेछ । साथै संसदले सर्वसम्मतिले पारित गरी लुम्बिनी क्षेत्रलाई ” अन्र्तराष्ट्रिय शान्ति शहर” को रुपमा विकास गर्न ल्याएको संकल्प प्रस्ताव तथा बाँकी रहेको लुम्बिनी विकास गुरुयोजनाको कार्यलाई तीन बर्षको अबधिभित्र पुरा गर्न सरकारलाई दिएको निर्देशनलाई जतिसक्दो चाँडो पुरा गर्न खबरदारी गर्नु पनि कपिलबस्तु दिवस अभियानको दायित्व हुनेछ । अरु पनि यस्तै किसिमका राष्ट्रियतासंग सम्बन्धित समस्याहरु समाधान र पर्यटन बर्ष-२०११ लाई बुद्ध, लुम्बिनी तथा कपिलबस्तुसंग जोडेर प्रचारप्रसार गर्नुका साथै नेपाली राष्ट्रियताका विषयहरुलाई अन्तरराष्ट्रियकरण गराउने र नेपाललाई विश्वमा सकारात्मक ढंगले चिरपरिचित गराउने काम नै प्रमुख हुनेछ । अतः हामी धर्म, जाति, क्षेत्र या विभिन्न नाममा विखण्डित र विश्रृखलित हुनुभन्दा पनि राष्ट्रिय हितको पक्षमा एकजुट हुन सक्यौ भने न्याय र सत्यका धरोहर बुद्धको नाममा असत्य र भ्रमका खेती गर्ने भारतीय अतिक्रमण नीति र त्यसैलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनेहरु आफै पराजित भएर जानेछन् अनि मात्र हामीले स्वाभिमानका साथ नेपाली भएकोमा गर्व गर्न पाउनेछौ ।
[1] लेखक कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिको कतार एबं मध्यपूर्ब संयोजक हुनुहुन्छ ।
No comments:
Post a Comment