Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Saturday, July 30, 2011

लुम्बिनी विकासबारे चीनमा सम्झौता

Posted by Ram Kumar Shrestha on July 18, 2011
निर्मल श्रेष्ठ
हङकङ, श्रावण २ – लुम्बिनीलाई विशेष सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न राष्ट्रसंघीय औद्योगिक विकास संगठन (यूएनआईडीओ) र चीनस्थित गैरसरकारी संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपीईसीएफ) बीच सम्झौता भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहअध्यक्ष रहेको एपीईसीएफले लुम्बिनी परियोजनामा तीन अर्ब अमेरिकी डलर (२ खर्ब २५ अर्ब रुपैयाँ) खर्च गर्ने केहीअघि घोषणा गरेको थियो । त्यसलाई ‘अपत्यारिलो’ भन्दै धेरैले शंका गर्ने गरेका छन् ।
त्यही क्रममा यूएनआईडीओले एपीईसीएफलाई त्यसको संस्थागत सहयोग गर्ने सहमतिपत्रमा शुक्रबार बेइजिङमा हस्ताक्षर भएको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । सम्झौतापछि परियोजनामाथि विश्वनीयता बढे पनि आर्थिक स्रोतबारे अझै केही खुलाइएको छैन ।
बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न पूर्वाधार निर्माणका लागि एपीईसीएफले अहिलेसम्मकै ठूलो रकम सहयोग घोषणा गरेको हो । उक्त संस्थाद्वारा २०१० अक्टोबरमा मलेसिया र २०११ मार्चमा सिंगापुरमा आयोजित बैठकमा दाहाल सहभागी थिए ।
‘सम्झौता यूएनआईडीओको अर्थव्यवस्था, पर्यावरण र रोजगारीका सिद्धान्तअनुरूप भएको हो,’ संगठनका कार्यालय प्रमुख हु यानदोङको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘२० वर्षअघिदेखि संगठनले लुम्बिनीलाई सांस्कृतिक केन्द्र बनाउन पहल गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।’
फाउन्डेसनका कार्यकारी उपाध्यक्ष जिआओ उनानले लुम्बिनीलाई विशेष सांस्कृतिक केन्द्र बनाउने परियोजनामा थुप्रैले चासो देखाएको समेत उल्लेख गरेका छन् । उनान लगायतको प्रतिनिधिमण्डलले सरकारको निमन्त्रणामा केही महिनाअघि नेपाल भ्रमण गरेको थियो । ‘सडक, दूरसञ्चार र पर्यटकीय सुविधालगायत पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा पर्नेछन्,’ खराब सडककै कारण आफूहरूले हेलिकप्टर प्रयोग गर्नुपरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘लुम्बिनीले एकपटक सांस्कृतिक केन्द्रको आकार लिएपछि हजारौं धर्मावलम्बीको ताँती लाग्नेछ ।’

भ्रमणका बखत टोलीले लुम्बिनीमा हाल विद्यमान मुख्य समस्या र भावी परियोजनाहरूबारे विस्तृत अध्ययन गरेको जनाएको छ । प्रतिनिधिमण्डलले सहअध्यक्ष दाहाल, उपप्रधानमन्त्रीद्वय भरतमोहन अधिकारी र कृष्णबहादुर महरा तथा रक्षामन्त्री विष्णु पौडेललगायत लुम्बिनी विकास कोषका अधिकारीसँग छलफल गरेको थियो ।
लुम्बिनीमा सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्ने अवधारणा सँगै बुद्धिस्ट रिसोर्ट, चक्रपथ निर्माणलगायत योजनासमेत रहेको फाउन्डेसनको वेबसाइटमा उल्लेख छन् ।
कोषका सदस्य सचिव राजेन्द्रबहादुर थापाले चिनियाँ संस्थाको सहयोग अत्यन्तै स्वागतयोग्य भए पनि दाता वा नेपाल सरकार कसैले आधिकारिक जानकारी नगराएको कान्तिपुरलाई बताए । भ्रमणका क्रममा फाउन्डेसनका पदाधिकारीहरूसँग लुम्बिनी क्षेत्रको गुरुयोजनाबारे छलफल भएको भने उनले जानकारी दिए । ‘उहाँहरूसँग लुम्बिनी गुरुयोजनाबारे छलफल भएको थियो,’ थापाले भने, ‘त्यसपछि एक्कासि सहयोग रकम घोषणा भएको सुनियो तर कतैबाट आधिकारिक जानकारी छैन ।’
बेइजिङस्थित नेपाली दूतावासले समेत सार्वजनिक भएका समाचारहरूबाहेक अन्य केही थाहा नभएको जनायो । ‘कतिपय कुरा सरकारसँगको सीधा सम्पर्कमा पनि हुन सक्छन्, सबै हामीलाई थाहा हुन्छ भन्ने छैन,’ दूतावास स्रोतले भन्यो । बेइजिङमा मुख्य कार्यालय रहेको फाउन्डेसनको हङकङ र ताइवानमा सम्पर्क कार्यालय छन् ।
@ekantipur

No comments: