अब्दुल्लाह मियाँ
काठमाडौ, फाल्गुन २७ – गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र मावली रामग्राम (नवलपरासी) मा २५ सय वर्षअघि कुन प्रजातिका रूख थिए

होलान् ? तीमध्ये कति प्रजाति बाँकी होलान् ?
एकिन तथ्यांक वन मन्त्रालय र सम्बन्धित जिल्ला वन कार्यालयसँग पनि छैन । तर अनुसन्धानकर्ताहरूले बुद्धकालीन अवस्थाका धेरै रूखका प्रजाति लुम्बिनीबाट हराइसकेको बताएका छन् ।
जर्मनीलगायत विभिन्न मुलुकका अनुसन्धानकर्ताको अध्ययनले सिसौबाहेक त्यतिबेलाका धेरै प्रजातिका रूख/बिरुवा हराइसकेको निष्कर्ष निकालेका छन् । त्यसैले लुम्बिनीलाई बुद्धकालीन रूखका प्रजातिहरूले फेरि हराभरा बनाउने प्रयास थालिएको छ ।
वन तथा भूसंरक्षण र संस्कृति मन्त्रालयका साथै लुम्बिनी विकास कोष त्यो अभियानमा छन् । गौतम बुद्धको समयका पीपल, कदम, जामुन, सीता अशोक, बरलगायत औषधिजन्य र अन्य साधारण वनस्पतिका बिरुवा लुम्बिनी क्षेत्रमा अब रोपिनेछ ।
पर्यटन वर्ष र अन्तर्राष्ट्रिय वन वर्षको अवसरमा बुद्धकालीन रूखका प्रजाति लगाउन अभियान थालिएको हो । ‘लुम्बिनी क्षेत्रमा बुद्धकालीन परिवेश निम्त्याउन खोजिएको हो,’ वन मन्त्रालयका सचिव युवराज भुसालले भने, ‘त्यसो हुँदा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्त्व बढाउन मद्दत पुग्छ ।’ सरकारले सन् २०११ लाई ‘प्लान्ट होलिडे’ घोषणा गर्दै काँचा रूख नकाट्न भनेको छ ।