Posted by Ram Kumar Shrestha on March 19, 2012
[ठूला मेडियाहरुको एक किसिमले नक्कली लुम्बिनीको सम्बन्धमा आबस्यक्तभन्दा बढी मौनताको बिषयमा बेला बखत सुनिने गरेको टिप्पणी र असन्तुस्टी अस्वाभाबिक होइन, तर चैत्र ५ को कान्तिपुरको सम्पादकीय अत्यन्तै प्रसंशनीय छ यो दृष्टिकोणले र यहाँ जानकारीको लागि पुन: प्रकाशित गरिएको छ ।]
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई सरकारले नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । बानको भ्रमण राष्ट्रसंघको नेपालसँग बृहत्तर सम्बन्ध विस्तारसँग सम्बन्धित छ र त्यही उद्देश्यअनुरूप उनी आउन लागेका हुन् । गौतम बुद्धको जन्मथलो लुम्बिनी जाने योजना उनको भ्रमणको एउटा पाटो मात्र हो । नेपालमा राष्ट्रसंघको मुख्य चासो जारी शान्ति प्रक्रियालाई लिएर रहिआएको छ, जसको जग बसाउनमा उसको महत्त्वपूर्ण संलग्नता थियो । द्वन्द्वरत माओवादी र संसदीय पार्टीहरूबीच १२ बुँदेबाट शान्ति-समझदारी भएपछि त्यसको अनुगमन र लडाकुहरूको व्यवस्थापनका निम्ति राष्ट्रसंघले राजनीतिक मिसन -अनमिन) नै पठाएको थियो । अनमिनको बहिर्गमनपछि पनि नेपाली शान्ति प्रक्रिया राष्ट्रसंघीय ँराडार’ बाहिर नरहेको हामीले बिर्सनु हुन्न । शान्ति प्रक्रिया समापनको अन्तिम चरणमा पुगेको यसबेला हुन लागेको बानको भ्रमण यस अर्थमा महत्त्वपूर्ण छ । उनको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन पूर्वविद्रोही माओवादीमाथि निणर्ायक दबाब सिर्जना गर्नेछ ।
महासचिव बानको भ्रमणको अर्को पाटो लुम्बिनीको विकास हो । आफैं पनि बौद्धमार्गी भएकाले हुन सक्छ, बुद्धको जन्मथलोको विकासमा उनको अभिरुचि देखिन्छ । यसअघि नेपाल आउँदा उनी लुम्बिनी जान पाएका थिएनन्, यसपालि आफैं जाने आशयको पत्र पठाएपछि सरकारले अग्रसरता देखाएको हो । नेपालमा पर्यटन आकर्षण/विस्तारका दुइटा सम्भावनामध्ये सगरमाथा हिमाल एउटा हो भने लुम्बिनी अर्को । हिमालय आरोहण र त्यस क्षेत्रको पदयात्राले खासगरी पश्चिमा मुलुकका पर्यटकहरूलाई तान्छ भने लुम्बिनी चीन, दक्षिण एसियाली मुलुकलगायत विश्वभरका बौद्धमार्गीहरूको आकर्षणको केन्द्र हो । तर त्यसलाई हामीले जुन रूपमा विकसित गर्नुपर्ने हो, न त्यो हुन सकेको छ न त अपेक्षित अन्तर्राष्ट्रिय प्रचार गर्न सकिएको छ ।
सँगैमा छिमेकी भारतले गौतम बुद्ध र बौद्ध धर्मको ँसर्वाधिकार’ लिने गरी विश्वव्यापी अभियान चलाइरहेको र त्यसै सन्दर्भमा बुद्ध भारतीय भूमिमा जन्मेको प्रचारसमेत हुने गरेको पृष्ठभूमिमा नेपालले आफैंसँग रहेको बुद्धको जन्मथलोसमेत राम्रोसँग चिनाउन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रसंघीय सहयोग वा संलग्नता बढाएर लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक/शान्ति केन्द्र बनाउन सक्ने हो भने त्यसले नेपालको महत्त्व बढाउने, पूर्वाधार विकास गर्ने र आर्थिक गतिविधि तीव्र पार्ने सम्भावना छ । यसका निम्ति राष्ट्रसंघका महासचिव बानको आगमन महत्त्वपूर्ण अवसर बन्न सक्छ । यसअघि सन् ६० को दशकमा राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त आएपछि लुम्बिनी विकासको गुरुयोजना बनेको थियो, जो हालसम्म पूरा भएको छैन । त्यसलाई पूर्णता दिंदै यसको अन्तर्राष्ट्रिय महत्त्व स्थापित गर्ने अवसर हो अहिले ।
यद्यपि केही व्यक्तिहरूले बृहत्तर राष्ट्रिय लुम्बिनी विकास समितिको प्रमुखमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल रहेको भन्दै महासचिव बानको भ्रमण नै रोक्ने दुष्प्रयास गरिरहेका छन् । कुनै नेता कसैलाई मन नपर्न सक्छ, तर त्यसको अर्थ तिनलाई कारण देखाएर राष्ट्रिय हितविरुद्ध सक्रिय हुनुजस्तो अपरिपक्वता केही हुन सक्दैन । महासचिव बान अध्यक्ष दाहाल वा प्रधानमन्त्री बाबुराम भट्टराईसँग सामीप्य भएकाले आउन लागेका होइनन्, उनी त नेपाल राष्ट्रको निम्तोमा आउने हुन् । तर अहिले देशभित्रको कुनै नेता मन पर्दैन भन्ने बहाना बनाई अन्तर्राष्ट्रिय जगत्बाट हुन लागेको उच्चस्तरीय भ्रमण नै रोक्न खोजेर कसको सेवा गरिँदै छ ? लुम्बिनी विकास-सम्भावना अवरुद्ध गर्ने हर्कत राष्ट्रहितका पक्षमा छ ? के यसले नेपाल बुद्धको जन्मथलो होइन भन्दै गर्ने गरिएको प्रचारबाजीलाई सघाउँदैन ? घरेलु राजनीतिमा जति विध्वंस मच्चाए पनि त्यसको आयतन सीमित हुन्छ, तर कोही आफ्नो निहित स्वार्थलाई लिएर देशकै हितविरुद्ध सक्रिय हुन्छ भने त्यो कसैलाई मान्य हुँदैन ।
मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालन नेता, पार्टी र वादभन्दा माथि हुन्छ र हुनुपर्छ । राष्ट्रसंघका महासचिव बानको प्रस्तावित भ्रमण रोक्न खोज्ने विध्वंसकारी चिन्तन लिनुभन्दा यस्ता अवसरलाई कसरी राष्ट्रिय हितमा प्रयोग गर्न सकिन्छ भनेर थोरै मात्र सोच्ने हो भने त्यसले मुलुककै भलाइ गर्नेछ । नेपाली नागरिक भइसकेपछि कम्तीमा यो हाम्रो दायित्वभित्रै पर्छ ।
No comments:
Post a Comment