By ध्रुवहरि अधिकारी
‘बुद्धको जन्म लुम्बिनी नेपालमा भएको हो ।’ यी शव्दहरुको अंग्रेजी रुपान्तरण आफ्नो चिनारी कार्ड भिजिटिङ कार्ड मा छाप्ने र आफूसित परिचयमा आउने हरेक मानिसलाई त्यो कार्ड दिने डा. गोविन्दप्रसाद थापालाई धेरै नेपालीले चिन्दछन् । कतिपयले उहाँलाई प्रहरी सेवामा बहाल छँदै विद्यावारिधि गर्ने पहिलो उच्चपदस्थ अधिकृतको रुपमा हेर्दा हुन् । मैले पनि त्यही क्रममा चिनेको हो । बुद्धसित गाँसिएको देशको विशिष्ट पहिचानप्रति गर्व गर्ने र सजग रहने डा. थापाको कार्यशैली प्रशंसनीय छ ।
‘देखेको मुलुक’ का लेखक कनकमणि दीक्षितको हेराइ अलिक बेग्लै किसिमको रहेछ । लेखकको रायमा नेपाललाई बुद्ध जन्मेको देश भनेर गर्व गर्नुको खास अर्थ छैन किनभने अढाइ हजार वर्षअघि सिद्धार्थ गौतम जन्मिँदा नेपाल भन्ने राज्य नै थिएन । झट्ट सुन्दा हो पनि इतिहासको सन्दर्भमा आजको भूगोललाई नियाल्दा लेखकको कथनलाई गलत भन्न मिल्दैन । र यो तर्कसित सहमत हुने हो भने केटाकेटीलाई पढाइने बुद्धसम्बन्धी पाठ्य सामग्री फेर्नुपर्छ भन्ने लेखकको दिशा-निर्देशलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । लेखको आग्रह त्यस्तै छ ।
तर कति स्वीकार्य होला यो प्रस्तावः भन्न गाह्रो छ । किनभने ‘उग्रराष्ट्रवाद’ को विरोध गर्ने लेखकको स्वतन्त्रताको सम्मान गर्दागर्दै पनि तथ्यसम्मत सूचना विवरणहरुले स्थापित गरेको यथार्थलाई अस्वीकार गर्ने धृष्टता धेरैले नगर्लान् । र अन्वेषण तथा अनुसन्धानबाट प्रमाणित यथार्थ होः जुन ठाउँमा सिद्धार्थ गौतम जो पछि बुद्ध भए जन्मे त्यो ठाउँ लुम्बिनि हो र लुम्बिनी नेपालमा पर्दछ । भन्नु परोइन यो पर्यटकलाई लोभ्याउने कुरो मात्र होइन । यो बौद्ध-मतावलम्बीहरुको अटुट आस्थाको केन्द्र हो । जापान कोरिया वर्मा श्रीलंका थाइल्याण्ड समेतका देशहरुबाट लुम्बिनी तीर्थाटनमा आउनेहरु मनोराजनको अर्थमा बुझिने पर्यटनका लागि निस्केका डुलुवा होइनन् । बुद्धले ज्ञान पाएको स्थान बोधगया पहिलोपटक उपदेश दिएको ठाउँ सारनाथ र उहाँको महापरिनिर्वाण भएको स्थान कुसीनगर अहिलेको भारत देशमा पर्दछ । यति कुरो भारत सरकारले नै स्वीकार गरिसकेको छ । अन्यथा लुम्बिनीको संरक्षण र प्रवद्र्धनका निम्ति साचालित परियोजनाहरुलाई भारत सरकारका तर्पुबाट दूतावासले किन सहयोग गरिरहन्थ्यो । किन चीन र श्रीलंकाभन्दा पछि परिएला भनेर सावधानि अपनाइरहन्थ्यो अनि बुद्धको जन्मस्थल हो भन्ने कुरामा ढुक्क नभएको भए दलाई लामा पटक-पटक लुम्बिनी आउन नेपाल सरकारसित किन अनुमति मागिरहन्थे सन् १९८१ मा एकपल्ट यस्तो अनुमति पाए पनि ।
इतिहासको सन्दर्भबुद्धको ज्ञान नेपाल अथवा भारतमा सीमित हुने ‘वस्तु’ अवश्य होइन । र उहाँ एसियाको ज्योति लाइट अफ एसिया मात्र पनि होइन । शाश्वत मान्यताका स्रोतलाई विश्वव्यापी महत्वका आदर्श व्यक्तित्व नै मान्नुपर्छ । तर के यसो भन्दैमा बौद्ध दर्शनबारे पढ्दा लेख्दा सान्दर्भिक भएर आउने बुद्धको जन्मस्थलको उल्लेख नै नगर्ने त्यसो हो भने त बोधगया सारनाथ र कुसीनगरको पनि चर्चा नगरे भयो । तर यस्तो सोचसित धेरैले सहमति जनाउन सक्दैनन् । जगजाहेर छ बुद्धसित सम्बन्धित चार महत्वपूर्ण ठाउँमध्ये एउटा लुम्बिनी नेपालमा पर्छ र अन्य तीनस्थान भारतमा पर्छन् । कालक्रममा विकसित भएका राजनीतिक नक्साले यस्तो परिणाम ल्याएको हो । विद्यालयका बालबालिकालाई यिनै कुरा सिकाए भैगो तथ्य-सत्य बताए पुगिहाल्यो । अझ छिचोलर कुरो गर्ने हो भने आधुनिक भारत अस्तित्वमा आउको ६३ वर्ष सन् १९४७ देखि मात्र भयो नेपाल र लुम्बिनी त त्यसअघि नै थिए ।
सबैतिरका लेखक नेपालीजति उदार नहुँदा रहेछन् । अहिलेको भूमण्डलीकरणको युगमा समेत । फरिद जकारिया यस प्रसंगका दृष्टान्त हुन सक्छन् । अमेरिकाको ख्यातिप्राप्त पत्रिका न्युजविकको अन्तर्रास्ट्रिय संस्करणका सम्पादक जकारियाको नयाँ कृति ‘द पोस्ट-अमेरिकन वल्र्ड’ (अमेरिकापछिको विश्व) चर्चित पुस्तकहरुको सूचीमा पर्दछ । पुस्तक पठनीय पनि रहेछ । बदलिँदो विश्वमा पनि राजनीतिक नेतृत्व दिने शक्तिरास्ट्र भने अमेरिका नै हुनेछ भन्ने निचोड निकाल्न थरी-थरीका आँकडा र विवरणका अतिरिक्त सशक्त तर्कहरु दिइएका छन् । अस्वभाविक लाग्ने कुरो एउटै रहेछ र त्यो हो सन् १९८२ मा भारतबाट बसाइँ सरेर गएपछि अमेरिकी नागरिक भएका व्यक्तिले रैथाने युवकले भन्दा पनि बढी अमेरिकी शैलीबाट आफूलाई प्रस्तुत गरेको देखिने लेखाइ । यसै सन्दर्भमा हेरौं कितावमा आउने बुद्धसम्बन्धी कुरालाई । ‘बुद्ध भारतीय थिए र बौद्धधर्मको स्थापना भारतमा भएको थियो’ … (बुद्ध वाज् इन्डियन एन्ड बुद्धिजम् वाज् फाउन्डेड इन् इन्डिया) भन्ने उनको कथन रहेछ । यस भनाइको पहिलो अंशमा परेको कुराले सिंगो कितावकै विश्वसनीयतालाई प्रश्नचिह्नमा पार्दछ । जकारिया १८ वर्षको उमेरसम्म भारतमै थिए पढ्दै थिए भन्ने जानकारी यही पुस्तकमा पाइन्छ । तर भारतमा जन्मे हुर्केर पनि बुद्धको जन्मस्थल थाहा नपाउनु उदेकलाग्दो पक्ष हो । दुराशय राखेर तथ्य बङ्ग्याउने कार्य विद्धानका लागि सुहाउने होइन । बुद्ध जहाँ जन्मेको भए पनि त्यसले महत्व राख्दैन मुख्य कुरो त उनको सन्देश उपदेश हो भन्ने मान्यता राख्नेहरुलाई पनि मैले यसबीचमा भेटेको छु । त्यसैले त्यस्ता विद्धान व्यक्तित्वहरुबाट जकारियालाई यस्तो प्रश्न सोधियोस् भन्न मन लागेको हो: जकारिया महाशय किन तिमी बुद्ध भारतीय नै थिए भनाउनमा जोड गरिरहेका छौ ? बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालमा पर्छ भनेर साँचो कुरा लेख्दा तिमीलाई के नोक्सान पर्छ ? आखिर जहाँ जन्मेको भए पनि बुद्ध बुद्ध नै रहन्थे । रहेकै छन् ।
जन्मस्थलको प्रसंगजन्मस्थलभन्दा जकारियालाई कर्मस्थल फापेको छ । अमेरिका असीमित अवसरहरु भएको देश मानिएकै छ । त्यहाँ पुगेपछि क्षमता र योग्यताको आधारमा मानिसहरु उच्चभन्दा उच्च ओहोदामा पुग्न सक्छन् । र यस्ता आप्रवासी अमेरिकीहरुमा जकारियाजस्ता पुरुषमात्र छैनन् । महिलाहरु पनि उत्तिकै छन् । २०४६ सालको जनआन्दोलनताका नेपालमा रहेकी अमेरिकी राजदूत जुलिया चाङ ब्लक २०१६ सालतिर सन् १९५९ चिनियाँ शरणार्थीको रुपमा अमेरिका प्रवेश गरेकी महिला थिइन् । यहाँ नेपालमा बस्दा उनी चर्चित विदेशी कूटनीतिज्ञ कहलिइन् । यता रहँदा आफ्नो जन्मभूमि चीन पनि डुलेर आइन् । यस्तै ख्यातिप्राप्त अर्की महिला हुन् म्याड्लिन अलब्राइट जो विल क्लिन्टनको कार्यकालमा अमेरिकाको विदेशमन्त्री नै भइन् । उनी सन् १९४८ मा चेकोस्लोभाकियाबाट शरणार्थी भै अमेरिका पुगेकी हुन् । आफ्नो अध्ययन-मेहनत-प्रतिवद्धताले उनलाई त्यति उच्च पदसम्म पुर् यायो । अमेरिकाबाहिर जन्मेको मानिसले पुग्न पाउने उच्च तहसम्म पुर् यायो । सर्वोच्च अर्थात् राष्ट्रपतिको पदमा पुग्न भने अमेरिकामै जन्मेको मानिसले नागरिकले मात्र पाउँछ । सन् १७८७ मा जारी भएको संविधानमा परेको यस व्यवस्थालाई अमेरिकीहरुले आजसम्म हेरफेर गरेका छैनन् । विश्वव्यापीकरण २१ औं शताव्दीको आगमन लगायतका कुनै कुराले यो प्रावधान संशोधन गराउन सकेको छैन । अमेरिकामा जन्म भएको र नभएको कुराले अमेरिकाजस्तो उदार देशमा त असर पर्दोरहेछ भने अन्यत्रका देशहरुमा के होला ? जे भए पनि हामीकहाँ जस्तो भाँडभैलो नहोला ।
इसाई धर्म मान्नेहरुमध्ये रोमन क्याथोलिक सम्प्रदायका सर्वोच्च धर्माधिकारी हुन पोप । इटालीमा भए पनि पोपको राज्य भ्याटिकन सिटीलाई छुट्टै देशसरह मान्यता दिइन्छ । र पोपको पदका लागि एउटा स्वीकृत विधिद्धारा निर्वाचन हुन्छ । निर्वाचित धार्मिक नेता कहिले कुन देशका कहिले कुन देशका पर्छन् । अहिलेका पोप बेनडिक्ट सोह्रौं जर्मनीका नागरिक हुन् । यसअघि पोपको जिम्मेदारी पोल्यान्डका पादरीले सम्हालेका थिए । यस्तो प्रचलन र पृष्ठभूमिमा जर्मनीका क्याथोलिकहरुले अहिलेका बहालवाला पोप त हाम्रो देका विशिष्ट व्यक्तित्व परे भनेर गर्वको अनुभूति गरे भने त्यो उचित होला कि अनुचित ?
त्यो अनुचित मानिदैन भने बुद्ध भनेर संसारले चिनेका महापुरुषको जन्मस्थल नेपालमा पर्छ भन्दै नेपालीले अतिरिक्त सुखानुभूति लिनु कसरी नाजायज कार्य होला र आखिर तेन्जिङ नोर्गे पनि सगरमाथा उक्लिँदा नेपाली नै थिए । त्यसै हुनाले जनकविकेशरी धर्मराज थापाले ढुक्क भएर गाइदिए : हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो ।
यो लेख फेब्रुअरी १४ २०१० को राजधानी दैनिकमा प्रकाशित भएको हो ।
No comments:
Post a Comment