पूर्ण बस्नेत, बेइजिङ, असार २६- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने

अभियान तीब्र पारेको छ। बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले बेइजिङमा हालै आयोजना गरेको कार्यक्रममा लुम्बिनीलाई छायामा पार्न खोजिएको सहभागीहरूको अनुभव छ।
‘बुद्धिजमः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रमका एक सहभागीका अनुसार ‘बुद्ध भारतको कपिलवस्तुमा जन्मेका थिए’ भनेर लेखिएको पोस्टर कार्यक्रमस्थलमै टाँसिएको थियो। ‘आयोजकले कार्यक्रम स्थलमा टाँसेको पोस्टरबाट बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने तोडमोड गर्न खोजेको प्रष्ट बुझिन्थ्यो,’ कार्यक्रमका एक नेपाली सहभागीले भने।
‘भारतीयहरू बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बिहारको बोधगयाको मात्र चर्चा गरेर लुम्बिनीलाई ओझेल पार्न खोज्दै छन्,’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन बेइजिङ आएका अध्येता रमेश ढुङ्गेलले भने, ‘बेइजिङमा पनि उनीहरूले बुद्धको जन्मस्थल लुम्बिनी हो भनेर खुलेर चर्चा गर्न चाहेनन्।’
ढुङ्गेल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसिया अध्ययन केन्द्रको बुद्धिस्ट एन्ड हिमालय स्टडिजका संयोजक हुन्। असार ४ देखि तीन दिनसम्म चलेको कार्यक्रममा उनले बुद्धिजमको पुनर्उत्थानमा नेपाली अध्येता अमृतानन्दको योगदानबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी थिए।
भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको यो कार्यक्रम आयोजना गरेको हो। कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको आइसिसिआरमा भारतीय विदेश मन्त्रालयका सहसचिव योगेश्वर बर्मा उपनिर्देशक छन्। भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियानमा रहेको आइसिसिआरले कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यसअघि नै कार्यक्रम गरिसकेको छ।
ढुङ्गेल संयोजक रहेको बुद्धिस्ट एन्ड हिमालय स्टडिज र काठमाडौँस्थित भारतीय दूतावाससँग मिलेर आइसिसिआरले तीन महिनाअघि काठमाडौँमा यस्तै कार्यक्रम गरेको थियो। ‘बुद्धको जन्मस्थल हाम्रो देशमा पर्ने मात्र होइन, बुद्धिजमको पुनर्स्थापनामा पनि नेपालको ठूलो योगदान छ तर हामीलाई ओझेलमा पार्न खोजिँदैछ,’ ढुङ्गेलले भने, ‘काठमाडौँको कार्यक्रममा चाहीँ बुद्धले नेपालमा जन्मेर भारतमा ज्ञान प्राप्त गरेको भन्ने अवधारणा पत्रमै राख्न सफल भएका थियौँ।’